फिल्म निर्माता वाग्लेबाट बरामद नोट जाली भएको ठहर, राष्ट्र बैंकले भन्यो, कानूनी कारबाही गर

काठमाडौं–
केहि दिन पहिले साढे दुई करोड नक्कली नोटसहित पक्राउ परेका फिल्म निर्माता निर्माता माधवराज वाग्लेबाट बरामद नोट जाली भएको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकले उनको कोठाबाट बरामद भएको साढे २ करोड बराबरको नोट जाली भएको पुष्टि गरेको हो ।

गत जेठ २ गते प्रहरीले काठमाडौं–१, चारढुंगेस्थित वाग्लेको कोठामा छापा हान्दा एक हजार दरको दुई करोड ५२ लाख रुपैयाँ बराबरको नोट बरामद गरेको थियो । त्यतिबेला निर्माता वाग्लेले त्यो नोट फिल्म प्रायोजनका लागि भएको दाबी गरेका थिए ।

काठमाडौं प्रहरी परिसरले उनको साथबाट बरामद नोट नक्कली हो या होइन भन्ने पुष्टि गर्न राष्ट्र बैंकलाई पत्र काटेको थियो ।जवाफमा बैंकले बरामद नोट जाली भएको उल्लेख गर्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६१, ९५ र ९६ मा भएको व्यवस्था अनुसार कानुनी कारबाहीको अघि बढाउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकले भनेको छ, ‘अदालतबाट कानुनी कारबाही प्रक्रिया अन्तिम किनारा लागेपछि राष्ट्र बैंकको ऐन, २०५८ को दफा ५७ को उपदफा (४) मा भएको व्यवस्था बमोजिम सम्पूर्ण नोट यस बैंकमा दाखिला गर्नु पर्नेछ ।’

गत १ जेठमा काठमाडौं–२६, मित्रनगरस्थित सुमधुर क्याफे तथा खाजा घरमा सुर्खेत घर भइ कमलपोखरी बस्दै आएका २४ वर्षीय महेन्द्र बोगटीले खाजा खाएको बिल तिर्दा दिएको पैसामाथि सञ्चालकलाई शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै, महानगरीय प्रहरी प्रभाग, बसपार्कले बोगटीबाट अनुसन्धान थालेर जाली नोटको नेक्सस केलाउने क्रममा प्रहरी वाग्लेसम्म पुगेको थियो । र, कुल दुई करोड ६० लाख ६३ हजार रुपैयाँ नक्कली नोट प्रहरीले बरामद गरेको थियो ।

उक्त घटनामा वाग्लेसहित अन्य ६ जना पक्राउ परेका थिए । थप अनुसन्धान जारी रहेको काठमाडौं प्रहरी परिसरका मुद्दा शाखाका डिएसपी मोहन थापाले बताए ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video