मह जोडीले बनाउने भए ‘दाल भात तरकारी’, निर्देशकको जिम्मा किरण केसीका छोरा सुदनलाई (भिडियोसहित)

काठमाडौं–
२०७४ सालमा सुपरहिट फिल्म ‘शत्रु गते’ ले दर्शकको मन जितेको निर्माण टिमले आज फेरि अर्को नयाँ फिल्म निर्माणको घोषणा गरेको छ । हाँस्य कलाकारहरुले नै निर्माण घोषणा गरेकाले कमेडी जनराको नयाँ कमेडी फिल्म ‘दाल भात तरकारी’ नामको नयाँ फिल्म घोषणा गरिएको हो । किरण केसीको प्रस्तुतिमा मह संचारको ब्यानरमा निर्माण हुने फिल्मलाई निर्माता तथा कलाकार किरण केसीका सुपुत्र सुदन केसीले निर्देशन गर्ने भएका छन् । दुई हलिउड फिल्ममा सह–निर्देशकको जिम्मेवारी सम्हालीसकेका सुदनले नेपाली फिल्म निर्देशनमा पहिलो अनुभव बटुल्न लागेका हुन् ।

‘शत्रु गते’ जस्तै ‘दाल भात तरकारी’ मा पनि मल्टिस्टारर कलाकारहरुको बाहुल्यता छ । यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, बसुन्धारा भुषाललगायतका कलाकारहरुको मुख्य अभिनय रहनेछ । फिल्ममा पुष्पलको जोडी स्वस्तिमासँग बाँधिएको छ भने हरिवंश र निरुतालाई जोडीको रुपमा देख्न सकिनेछ । विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहने बताइएको छ । वर्ष २०७६ को बैशाख १३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मले हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथा बोल्ने निर्माण टिमले जनाएको छ । हरिवंश आचार्यको कथा रहने फिल्ममा स्क्रिन प्ले र डाइलग पनि उनकै हो । शम्भुजित बाँस्कोटाको संगीत रहने फिल्मका गीत हरिवंश आफैंले लेखेका छन् । ‘शत्रु गते’ मा भएका कमी कमजोरी ‘दाल भात तरकारी’ मा नदोहोर्‍याउने निर्माता केसीले प्रष्ट पारे । उनले भने, ‘शत्रु गते’ को सफलतापछि हामीलाई थप जिम्मेवारी थपिएको छ । दर्शकलाई एउटा स्वादिलो खाना पस्कन हामी कुनै कम्प्रमाइज गर्ने छैनौं ।’
त्यस्तै, उक्त कार्यक्रममा बोल्दै कलाकार हरिवंश आचार्यले किरण केसीको छोरा भएकै कारण सुदनलाई निर्देशनको जिम्मेवारी नदिएको बताए । उनले भने, ‘सुदन प्रतिभावान छ उसले राम्रो काम गर्न सक्छ भन्ने लागेर निर्देशनको जिम्मेवारी दिएका हौं ।’ यो फिल्म दाल भात तरकारी जस्तै हरेक नेपालीलाई मन पर्ने कलाकार आचार्यले विश्वास व्यक्त गरे । मित्र डि गुरुङको सम्पादन रहने फिल्ममा दिर्घ गुरुङले छायाँकारको जिम्मेवारी लिएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहने ‘दाल भात तरकारी’ मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुङ, अनुराग कुँवर, विल्सन विक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली निर्मातामा रहेका छन् । मंसिर पहिलो साताबाट फिल्म फ्लोरमा जाने तयारीमा रहेको बताईएको छ ।

भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video