यो हप्ता एकै पटक चार नेपाली फिल्मको भिडन्त सुरु, नतिजा कसको पक्षमा जाला ?

काठमाडौं–
आज भदौको पहिलो दिन नेपाली सिनेमा हलमा चार फिल्मको रस्साकस्सी सुरु भएको छ । फ्राईडे रिलिज अन्तर्गत यो हप्ता विशारद बस्नेत निर्देशित ‘मिस्टर भर्जिन’, प्रदिप श्रेष्ठको ‘ब्ल्याक’, रुपेश तामाङ को ‘जय शम्भु’ तथा लय संग्रौलाको ‘१२ मासे’ आम्ने–साम्ने भएका हुन् ।
विशारद निर्देशित ‘मिस्टर भर्जिन’ ले तीन भर्जिन युवाले सोंच्ने यौनको बारेमा बोलेको छ । तीन युवाको एकरातको यौनको कथाको आसपासमा फिल्म घुमेको बताईएको छ । यो फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणी नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको मुख्य अभिनय रहेको छ । यो फिल्मले सेन्सर बोर्डबाट ‘एडल्ट सर्टिफिकेट’ पाएको छ ।

त्यस्तै, प्रदिप श्रेष्ठ निर्देशित फिल्म ‘ब्ल्याक’ मा अभिनेत्री आँचल शर्मा पहिलो पटक अभिनेता पल शाह विना देखिएकी छिन् । उनले यो फिल्म‘मा अभिनेता आकाश श्रेष्ठसँग रोमान्स गरेकी छिन् । फिल्ममा यी दुई पात्रको पे्रममा आउने उतारचढावलाई देखाईएको छ । यो फिल्मका गीत संगीतले यूट्युव तथा अन्य संचारमाध्याममा धेरैको मन जित्न सफल भएका छन् । फिल्ममा आकाश र आँचलका अलवा आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्यको मुख्य अभिनय रहेको छ ।

अर्को एक्सन जनरामा निर्मित फिल्म ‘जय शम्भु’ पनि आजैदेखखि प्रदर्शनमा आएको छ । यो फिल्ममा एकैपटक र पहिलोपटक दुई ह्याण्डसम भिलेन पर्दामा देखिएकाले पनि फिल्मको अधिक चर्चा छ । अभिनेता द्वय प्रशान्त ताम्राकार र अनुप विक्रम शाहीको यसमा प्रमुख भूमिका छ । यो फिल्ममा फिल्ममा अभिनेत्री वर्षा सिवाकोटीका लागि दुई अभिनेताको टकराबलाई राम्रोसँग देखाउने प्रयास गरिएको छ ।

यस्तै, अर्को कमेडी फिल्म ‘१२ मासे’ पनि प्रदर्शनमा आएको छ । अभिनेता जयकिशन बस्नेत प्रमुख भूमिकामा रहेको फिल्मको कुनै प्रचार प्रसार भने देखिएको छैन । फिल्ममा जुवा तासमा हल्लिने युवा तथा बृद्धहरुको कथालाई उठाइएको छ । प्रदीप पाठक, पुजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापालगायतका कलाकारहरुको पनि उक्त फिल्ममा अभिनय छ ।

हल र दर्शक संख्याका हिसाबले एकैपटक यति धेरै फिल्म रिलिज हुनु निकै जोखिमयुक्त काम हो । फिल्म रिलिज हुनु त्यसै पनि व्यापारिक रूपमा जोखिमपूर्ण काम नै हो । अब हेर्न बाँकी यी चार फिल्ममा कसले कति बाजी मार्न सफल हुने हो । बाजी जसले मारे पनि यो सिने उद्योगको लागि भने निकै जोखिमयुक्त काम हो ।

त्यो बाहेक बुधवार नै बलिउडका दुई ठूला स्टारका फिल्म ‘सत्यमेव जायते’ र ‘गोल्ड’ प्रदर्शनमा आएका कारण नेपाली फिल्मले आफ्नो पक्षमा दर्शक तान्न त्येतिकै पनि चुनौति देखिन्छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video