बलात्कार विरुद्ध रेखाको कलम

महिलामाथि हुने दण्डनीय र निकृष्ट हिंसामध्ये बलात्कार चरम हिंसा हो । यौनिक आँखाबाट मात्र नहेर्ने हो भने यो व्यक्तिको सबै खाले अधिकारमाथिको प्रहार हो । हतियाररहित मान्छेले गर्न सक्ने सबैभन्दा ठूलो हिंसामा पर्छ बलात्कार । यसै महिना मात्र भएका २३ वटा बलात्कारका घटनामध्ये निर्मला पन्तको बलात्कारपछि गरिएको पासविक हत्याले हामीले हालसम्म ध्यान पुर्‍याउन नसकिएको सवाललाई सतहमा ल्याइदिएको छ ।

मानवीयताको दृष्टिबाट निर्मला पन्तको बलात्कार र हत्या नराम्रो भए पनि हामीले यसलाई कुन रूपमा लिने भन्ने प्रश्न हामीसामु खडा भएको छ । निर्मला प्रकरणमा भएको न्यायिक ढिलाइ ‘स्वीकार्य छैन’ भन्दै कञ्चनपुर आन्दोलित छ । यसले एउटा परिवार, छोरी र समुदायलाई मात्र होइन, पूरै देशलाई आन्दोलित पारेको छ । वास्तवमा यस्तो ऐक्यबद्धता र सामाजिक आन्दोलनले पहिल्यै गति लिएको भए निर्मला क्रूरताको सिकार हुनुपर्ने थिएन ।

आमरूपमा सतहमा र कानुनी उपचारमा आउनेभन्दा कैयौँ गुणा बढी अपराध स्थानीयस्तरमा मिलेमतो, गैरन्यायिक प्रक्रिया र लेनदेनबाटै मिलाइने गरिन्छ । त्यसलाई दृष्टिगत गर्ने हो भने बलात्कारको तथ्यांक वास्तविक धरातलमा धेरै होला । पीडितको चारित्रिक भविष्य, विश्वसनीयता र इमानदारिताबारे जिन्दगीभर प्रश्न उठ्न सक्ने जस्ता सामाजिक मिथ्या र लाञ्छनाका कारण पीडित महिला नै आजीवन पीडित भइरहन्छन् । समाजले बलात्कारीलाई प्रश्न उठाउनुको सट्टा महिलामाथि नै प्रश्न उठाउने कुरीतिका कारण बलात्कारी शिर उठाएर हिँड्ने र पीडित लुकेर हिँड्नुपर्ने अवस्था आफैँमा दुर्भाग्यपूर्ण छ ।

न्यायमा उदासीनता
न्याय र संरक्षणका लागि महिला जसमाथि निर्भर रहन्छिन्, उनीहरू नै पीडक भए के हुन्छ ? हिंसाको सिकार हुने महिला अथवा किशोरीले जसलाई पहिलो सूचना दिनुपर्ने हो, उनीहरूकै संलग्नतामा यस्ता जघन्य अपराध भएमा पीडितले कसरी न्यायिक उपचारको बाटो पहिल्याउने ? त्यसैगरी न्यायिक र दण्डनीय प्रक्रियामा संलग्न हुनुपर्ने पक्ष जोडिएका सम्भावित मुद्दामा शक्ति, सत्ता र पैसाले बलात्कारका घटना सम्झौता वा पर्दाभित्र सीमित भए के गर्ने ?

यस्ता घटनामा पीडितलाई न्याय दिन न्यायिक प्रक्रिया, अनुसन्धानको विधि तथा पीडितको सामाजिक सुरक्षाको विषयमा ध्यान पुर्‍याउनु आवश्यक छ । यौनिक हिंसाको अनुसन्धान र दण्ड पद्धतिमा आमूल फेरबदल गर्नु जरुरी छ । उजुरी, किटानी, साक्षी र सुनुवाइलाई ‘गोपनीय र विश्वसनीय’ बनाउँदै न्याय दिने प्रक्रियामा पीडितलाई कुनै पनि प्रकारका थप मनोसामाजिक तनाव र प्रहरी, प्रशासन तथा न्यायालयको ढोका ढकढकाउनुपर्ने झन्झटबाट मुक्त गर्नुपर्छ । पीडितका तस्बिरहरू, बयान र आरोपितका धारणा तथा प्रतिक्रिया जसरी बाहिर प्रचारबाजी गरिन्छ, त्यसले पीडितलाई ‘न्यायभन्दा आत्महत्या’ सजिलो लाग्ने बनाउन सक्छ । त्यसैले हामी यसतर्फ पक्कै पनि सचेत हुनुपर्छ ।

एकद्वार प्रणालीबाट पीडितकेन्द्रित न्याय दिने पद्धति अपनाउनुपर्छ । आवश्यकताभन्दा बढी सरोकारवालाको संलग्नताले पीडित नारीको अस्मिता र उनको निर्बाध न्याय पाउने बाटोमा अवरोध खडा गर्छ भन्ने हामीले विभिन्न घटनाबाट देखिसकेका छौँ । त्यसैले न्याय प्रणालीमा राजनीतिक पार्टीका मान्छे, जनप्रतिनिधि तथा महिला समूहलगायत स्थानीय ठालुहरू आदिलाई सहभागी गराइनुको के अर्थ ?

यौनिक शिक्षा र चेतनाको महत्व
यौनिक शिक्षा र जानकारी किशोर–किशोरी अवस्थादेखि नै सरल र स्वाभाविक रूपमा अन्य विद्या र विषय जस्तै गरी दिइनुपर्नेमा आजसम्म नेपाली समाज यस विषयलाई रहस्यमय ढंगबाट सिक्ने गर्छ । मानिस जुन प्रक्रियाबाट जन्मन्छ, त्यसलाई लाज, रहस्य र अनुशासनको परिधिभित्र राखेर नियन्त्रण गर्न सकिन्छ र ? बरु हामीले त्यसबारे थप ज्ञान र चेतना फैलाउनुपर्ने होइन र ? हामीले यौनिक हिंसाका प्रकार, अभिव्यक्ति र असमान्य अवस्थाबारे सानै उमेरदेखि नै सबैलाई शिक्षित गर्दै लैजानुपर्ने होइन र ?

त्यसैले जबसम्म यौनिकता, स्वतन्त्रता, आत्मसम्मान हुँदै त्यसका विकृति, कानुनी तथा सामाजिक परिधिबारे खुला छलफलको वातावरण बन्दैन, तबसम्म के यसले सही निष्कर्ष पाउँदैन । युवापुस्ताले यसका विकल्प सही माध्यमबाट पाउनुको सट्टा विविध माध्यमबाट संकलन गर्न पुग्दा अथवा भनौँ विद्युतीय माध्यमबाट त्यस कुरालाई हासिल गर्न पुग्दा मलाई लाग्छ, त्यसले बिल्कुलै भिन्न रूप लिन्छ । त्यस्ता माध्यमले किशोर–किशोरीलाई एकअर्काप्रति सम्मानको भाव होइन कि उनीहरूलाई वस्तुको रूपमा बुझन् र त्यसको उपभोक्ता बनाउन केन्द्रित गर्छ ।

भौतिक प्रतिरक्षा र मनोवैज्ञानिक बहस
हाम्रा बहुसंख्यक दिदी–बहिनी र छोरीहरूमा आत्मरक्षाको सीपको कमी भएका कारण यस्ता कैयौँ घटनाले मूर्तरूप लिइरहेका छन् । यदि हामीले महिलालाई आत्मरक्षाका विविध पाटामा सीप र ज्ञान दिन सक्यौँ भने सायद यस्ता कैयौँ घटना न्यूनीकरण भएर जान्छन् होला । दुर्भाग्यको कुरा के छ भने हिजोदेखि नै नारीलाई विद्यालय, परिवार, आमसञ्चार, कलालगायत क्षेत्रमा महिलालाई लज्जावती, मौनताकी प्रतीक, निरीह, परनिर्भर, कमजोर र शृंगारिक वस्तुको रूपमा खडा गरियो र आजसम्म पनि गरिँदै आइएको छ ।

यस्ताखाले विभिन्न उपमा, विशेषणले उनीहरूको सोचमाथि प्रहार गरेर कमजोर बनाउने प्रक्रियाले समाजमा पुरुषलाई बलशाली र महिलालाई निरीहको रूपमा परिचित गर्नाले नै वास्तविक जीवनमा महिलाहरू प्रतिरक्षामा पुगेका हुन् । जबकि यसको उल्टो पीडित महिलाको रहनसहन र लुगाजस्ता विषयले समाजमा यौनिक आक्रामकता बढाएको भन्ने तर्कमा कुनै ठोस आधार छैनन् । यसलाई आधार मान्ने हो भने सोझो र सुकुमार देखिने पुरुषमाथि महिलाले बलात्कारको प्रयास किन गरेनन् ?

उपाय र विकल्पबारे बहस जरुरी
बलात्कार यौनिक आवश्यकताको हिंसात्मक परिपूर्ति मात्रै हो भन्नु गलत हुन्छ । तथापि के कुरा निश्चित हो भने कुण्ठित यौनिकताले आपराधिक हुने सम्भावना बोकिरहेको हुन्छ । बरु देशको कुनै निश्चित स्थानलाई ‘रेड लाइट एरिया’ घोषित गर्दा बलात्कारका घटना समाजदेखि आफैँ निस्तेज हुँदै जाने सम्भावना रहन्छ । तर, यो पनि विवादमुक्त र सुनिश्चित उपाय नहुन सक्छ । सामाजिकताका हिसाबले असल नभए पनि अधिकार र स्वच्छन्दताका हिसाबले यो बलात्कारभन्दा कम हानिकारक हुन सक्छ ।
बलात्कारको मूल कारण महिला र पुरुषबीच स्थापित शारीरिक, मानसिक, सामाजिक र नैतिक शक्तिको असन्तुलन नै हो । पढे–लेखेका, धनी, आत्मनिर्भर, उमेरदार अथवा जिम्मेवारी बोकेका जोसुकै महिला पनि यस्ता घटनाको सिकार हुन सक्छन्, किनभने एउटा पुरुषको मानसिकतामा महिला यौनिक साधनभन्दा बढी केही पनि हुँदिन ।

यस्तो मानसिकताको शृंखला भंग गर्ने हो भने थुप्रै महिलाको प्रतिरक्षाको कुटाइबाट थुपै्र पुरुष घाइते भएको सामाचार छापिनुपर्छ । यसको अर्थ नारी हिंसात्मक हुनुपर्छ भन्नेचाहिँ होइन । उनीहरूलाई आफ्नो शरीरको रक्षाको अधिकार छ र त्यसको प्रयोगसमेत गरिनुपर्छ । जब बलात्कारले महामारीकै रूप लिन्छ भने सरकार र सरोकारवाला सबैको पहलमा ‘युवती प्रतिरक्षा’को क्षमता विकासमा दिगो कार्यक्रम सञ्चालन गर्न जरुरी हुन आउँछ । यसका लागि शिक्षा, सञ्चार र कला क्षेत्रमा व्यापक फेरबदल जरुरी छ । साभार: नँया पत्रिकाबाट

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video