ओइलिएको ‘रोज’ ( फिल्म समिक्षा )

सुत्र इन्टरटेन्मेन्ट – विश्व बजारमा सिनेमाको मेकिङ सजिलो पक्ष होइन भन्ने वुझाई छ । तर, नेपालमा यसको ठ्याक्कै उल्टो छ । नेपालमा सिनेमा मेकिङ केटाकेटी खेलाइको रुपमा लिइन्छ । जसलेगर्दा, सिनेमा सिनेमा नबनेर ख्याल ख्यालैमा दृश्य जोडिएको चल्ने चित्र मात्र बन्छ ।
शुक्रबारबाट रिलिज भएको सिनेमा ‘रोज’ यही शैलीको सिनेमा हो । जसलाई यसका निर्देशक निरक पौडेलले ख्याल ख्यालैमा बनाएका छन् । जसले गर्दा यो सिनेमा नबनेर हल्का फुल्का प्लट जोडिएको टेलिभिजनको क्राइम सिरियल जस्तो बनेको छ

कथावस्तु

यो सिनेमाको कथावस्तु सामान्य छ । कलेज पढ्दा देखि नै परमिता आर एल राणालाई मन पराउने प्रदिप, प्रदिपलाई मन पराउने मिरुना मगरको कथामा यो सिनेमा बग्छ । आफूले अत्यन्तै प्रेम गरेकी रोजलाई किन प्रदिपले हत्या गर्छन् या उनले नगरेर अरु कसैले हत्या गर्छन् भन्ने जान्नकै लागि दर्शकले १ घन्टा ३० मिनेट बिताउनु पर्दछ ।

राम्रो कुरा

सिनेमा हेर्दा यसको फूल होइन भन्ने गीत र त्यसको लोकेशन दर्शकलाई मनपर्छ । सिनेमाको दोश्रो पाटो पहिलो पाटो भन्दा केही राम्रो छ । तर, यो तुलानात्मक रुपमा मात्र राम्रो हो । सिनेमामा अभिनेत्री मिरुना मगरको इनोसेन्ट लुक्स राम्रो छ । सिनेमाको क्लाइमेक्सले मन चसक्क बनाउन सक्छ ।

कमजोरी

रोज कमजोरी नै कमजोरीले भरिएको अपूर्ण सिनेमा हो । जसलाई पूर्ण बनाउन भन्दा पनि निर्देशकले हतारमा सक्न बल गरेका छन् । उनले किन यति हतारमा सिनेमा बनाएर रिलिज गरे त्यो उनलाई नै थाहा होला । तर, निर्देशकले एउटा राम्रो कथालाई पुरै हत्या गरेका छन् ।
रोजको सम्पादन फितलो छ । कथावस्तुमा जर्बजस्ती दृश्य राखिएका छन्, ताकी यो छोटो नबनोस् । पहिलो पाटोमा अधिकांश दृश्य अपूर्ण छन् । पात्रले संवाद नै पुरा नभनी दृश्य सकिदा दर्शकलाई पट्यार लाग्छ ।
सिनेमा भित्र उपकथा छैन । जसले एउटै मिसनमा सिनेमा अघि बढेको छ र सकिएको छ ।
मिस नेपाल बन्न चाहने यूवतीको संघर्ष भन्दा प्रेम हाबी छ । मिस नेपाल बन्न चाहने यूवतीलाई प्रयोग गर्न खोज्ने धनाढ्य व्यापारीको नियत देखाइएको छ, तर उसले यूवतीलाई पगाल्नका लागि कोशिश गरेका दृश्य छैनन् । सिनेमाको केन्द्रमा रहेका प्रदिप र परमिताविचको प्रेमको आत्मियता फितलो छ । जसले परमिताको हत्या हुँदा पनि दर्शकको मन पग्लिदैन, प्रदिप वा परमिताप्रति कठै भन्ने भाव आउँदैन ।

के गर्न सकिन्थ्यो ?

सिनेमा यति धेरै हतारमा सकिएको छ कि, निर्देशकले क्रोमा खिचेको हरियो रंग समेत राम्रोसँग काट्न पाएका छैनन् । लिप्सिङमा धेरै समस्या छ । टर्कीको दृश्य पर्दामा आउँदा आँखामा शित्तलता होइन, पिरो हुन्छ । यो सिनेमाका लागि कथावस्तुमै धेरै समय लगाउन सकिन्थ्यो । छायांकन गर्दा नै भदौ २२ गते रिलिज गर्छु भनेर हतार नगरीएको भए धेरै राम्रो काम हुन सक्थ्यो ।

प्रदिपको करिअर

एउटा कुरा के भन्न सकिन्छ भने, प्रदिप खड्काले आफ्नो करिअरमा रोजेको सिनेमा मध्ये एउटा कमजोर सिनेमा हो यो । प्रदिपको रोजाइ यसपटक चिप्लिएको छ । उनका फ्यानका लागि सिनेमा ९० मिनेट रुचिकर हुन सक्ला । तर, सबै दर्शकले प्रदिपबाट यो अपेक्षा गर्न सक्दैनन् ।
कुसुमे रुमाल, होमवर्कपछि निर्देशक निरक पौडेलले अर्को कमजोर फिल्म दर्शकमाझ ल्याएका छन् ।

 

यो पनि पढ्नुहोस्ः

विवादै – विवादमा फसेको फिल्म ‘रोज’ प्रदिपका लागि बरदान कि अभिसाप ?

 

भिडियो हेर्नुस

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video