स्पाइनल इन्जरीहरूले मनाए तिज

यसपटक स्पाइनल कर्ड इन्जरी स्पोर्ट एसोसिशनले शारीरिक रुपमा अपाङ्ग भएका महिला दिदिबहिनीहरूलाई लक्षित गर्दै दर खाने कार्यक्रम भाद्र २३ गते शनिवार जोरपाटीस्थित स्पाइनल कर्ड इन्जरी स्पोर्ट एशोसिएसनको कार्यालय परिसरमा सम्पन्न गरेको छ । करीब ३५ जना दिदिबहिनीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा जापानी सूचना केन्द्र, नेपालका अध्यक्ष मदनकृष्ण सिलवालले ती महिला दिदिबहिनीहरूलाई मोटिभेशन क्लास दिनुभएको थियो भने गायिका रष्मिता स्याङ्तानले सुमधुर गीत गाएर मन्त्रमुग्घ पार्नुभएको थियो ।

सबैजना ह्वीलचेयरमा थिए, जब गायिकाले गीत गाइन् । अनि सबैको मनमा उमङ्ग छायो र थपडी मार्दै ह्वीलचेयरलाई यताउति मर्काउँदै सबै दिदिबहिनीहरू नाच्न थाले । कसैले गायका गीतसँगै लोलीमा लोली मालाउन थाले भने कसैले थपडी मारिरहे ।
ठिक त्यति नै बेला गायिका रष्मिता स्याङ्तान भन्दै थिइन्–‘तपाइँहरूलाई देखेर मलाई थप उर्जा मिलेको छ । म शारीरिक रुपमा सबल भएर पनि तपाइँहरूजस्तो खुशी हुन सकिरहेको छैन, तपाइँहरु यस्तो हँसिलो खुशिलो देखिनुहुन्छ । मेरो जीवनको पहिलोपटक तपाइँहरूसँग अनुभव साटासाट गर्ने मौका मिलेको हो ।’

गायिका रष्मिताको कुरा सुन्दै गर्दा सबैले टर्टर ताली बजाए । यत्तिकैमा एक बहिनीले भनिन्–‘दिदी तपाइँको गीत सुन्दा हामी पनि धेरै खुशी भएका छौँ । तपाइँले हामीलाई सम्झेर यहाँसम्म आइदिनुभएकोमा धेरैधेरै धन्यवाद !’
यसरी कहिले गायिकाले गायकको गीतसँगै त कहिले दोहोरी गीतमा उनीहरूले नाच्दै थिए भने कहिलेकाहीँ उनीहरू आफैँले पनि गीत गाउँदै थपडी मार्दै आत्मीयता एकअर्कामा साटासाट गरे ।
अन्त्यमा सबैले दर खाएर विदाबारी भए । धन्यवाद आयोजक संस्था स्पाइनल कर्ड इन्जरी स्पोर्ट एसोसियशन र अध्यक्ष गायत्री दाहाललाई ।

संक्षेपमा गायत्री दाहाल ः
गायत्री दाहाल शारीरिक रुपमा शसक्त छिन् तर उनको तिजप्रतिको मोहमा भने अन्य सवलाङ्ग महिलाभन्दा कमी छैन ।
१४ वर्षको उमेरमा पिङबाट लडेर मेरुदण्डमा चोटपटक भएकी गायत्रीको उपचारको लागि उनका बुबाआमाले के मात्र गर्न बाँकी राखे । अन्ततः धेरै पैसा सकियो र रिपोर्टमा डक्टरले लेखिदियो – स्पाइनल कर्ड इन्जरी ।
त्यसपछि गायत्री दाहालका सबै सपनाहरू चकनाचुर भए र उनले जीवनलाई डो¥याउन सबैजनासँग साहारा माग्छिन् तर धेरैजसोले सहारा लिन आनाकानी गर्थे । अपाङ्ग मैत्री विद्यालय नभएका कारण गायत्रीलाई विद्यालयमा भर्ना गर्न पनि धेरै विद्यालयले इन्कार गरे । अन्ततः उनले दरवार हाइस्कुलबाट एस.एलसीसम्म पूरा गरिन् ।

विगतलाई सम्झँदै उनी भन्छिन् –‘स्कुल जाँदा गाडीले पनि लान मान्दैनथ्यो, त्यो ताका । अनि मैले रुँदै घर पुगेर बुबालाई भने । मेरो दुःख देखेर होला बुुबाको मन नराम्ररी पोलेछ– भोलिपल्टदेखि नै मासिक रुपमा लाने ल्याउने गर्न ट्याक्सीको व्यवस्थापन गरिदिनुभयो ।’
गायत्री अहिले स्पाइनल कर्ड इन्जरी स्पोर्ट एसोसिएसनको अध्यक्षको रुपमा कार्यरत छिन् । उनकै सक्रियतामा स्पाइनल कर्ड इन्जरी भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू बेलाबखतमा आयोजना भइरहन्छन् । शारीरिक रुपमा अशक्तहरूले पनि केही गर्न सक्छन् भन्ने नमूना पात्रको रुपमा गायत्री दाहाल अघि बढिरहेकी छिन् ।
गायत्रीले गोकर्णेश्वर नगरपालिका मात्र होइन हरेक नगरपालिकाहरूसँग अपाङ्ग मैत्री बाटोघाटा र सडक निर्माण हुनुपर्छ भन्ने आवाज समेत उठाउँदै आएकी छिन् ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video