कमेडी, सस्पेन्स र प्रेममा घुमेको रामकहानी ( फिल्म समिक्षा )

सुत्र इन्टरटेन्मेन्ट – कतारमा ठूलो सपना बोकेर पुगेको एक यूवा र उसका ३ साथी । यूवती जिस्क्याएको निहुमा जेल परेपछि उनीहरुलाई मार्ने तयारी गरिन्छ । तर, पछि बास्तविकता वुझेपछि साहुले पासपोर्ट दिएर नेपाल फर्कन भन्छन् । नेपाल आएपछि फिल्मका मुख्य पात्र आकाश श्रेष्ठ उर्फ रामले आफ्ना ३ साथी केदार घिमिरे, विल्सन विक्रम राई र रविन्द्र झालाई सुनाएको कथाको वरिपरी रामकहानी घुमेको छ । रामको जीवनमा आएकी पूजा शर्मा उर्फ मायासँगको प्रेमलापमा पहिलो हाफ सकिन्छ ।

दोश्रो हाफमा मायालाई भेट्न साथी लिएर गाउँ गएको राम, मायाको फेरिएको अवस्थामा फिल्म घुम्छ । फिल्मले मायालाई भूत हो भनेर देखाइरहँदा कथाले नयाँ मोड लिन्छ । तर, क्लाइमेक्समा भूतको बिषयमा कथा खोल्दै निर्देशक सुदर्शन थापाले रामको कहानीको अन्त्य गरेका छन् ।

कमेडी र लभस्टोरी बलियो

फिल्ममा ४ जना मुख्य हाँस्य कलाकार भएपछि कमेडी पाटो त हुने नै भयो । केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई र रविन्द्र झाले फिल्ममा ज्यान भरेका छन् । उनीहरुले सुस्ताएको फिल्मको लयलाई कमेडीको माध्यमबाट उचालेका छन् । यसैले यसको बलियो पाटो कमेडी हो ।
निर्देशक सुदर्शन थापा लभस्टोरी सिनेमा बनाउन सिपालु छन् । म यस्तो गीत गाउँछुबाट चर्को आलोचना पाएका उनले यसपटक लभ स्टोरीलाई गहकिलो तरिकाले बाधेका छन् । उनले सुरुवातदेखि कथालाई बाधेकै कारण अन्त्यमा दर्शकका आँखा रसाउँछन् ।

ब्याकग्राउन्ड म्यूजिक र गीतले धानेको फिल्म

यो सिनेमाको हिरो ब्याकग्राउन्ड म्यूजिक र आए म तिम्रै छेउ बोलको गीत हो । यो सिनेमाको पृष्ठभूमीमा बज्ने धुन बलियो छ । सुगम पोखरेल र अन्जु पन्तको आवाजमा समावेश आए म तिम्रै छेउ बोलको गीत यति बलियोसँग राखिएको छ कि, यसले फिल्मलाई जुरुक्कै उठाइदिएको छ । फिल्ममा मायाका संवादहरुले पनि मुटु चसक्क बनाउँछ ।

कमजोरी पनि छ

सिनेमा भित्र कमजोरी पनि छ । पहिलो हाफमा कमेडी कलाकारबाट बाहिरिए लगतै सिनेमा स्लो छ । माया र रामको प्रेममा मात्र घुम्दा दर्शकलाई बोरिङ पनि हुनसक्छ ।
२१ औ शताब्दीमा भूतको कथा कतिपय दर्शकलाई विश्वास नलाग्न पनि सक्छ । मायालाई भूत हो भनेर प्रमाणित गर्नका लागि सिनेमामा पस्किएका मसला कतिपय स्थानमा पाच्य लाग्दैनन् । भारतीय सिरियलमा जस्तो सुरुवातमा एउटामाथि शंका गर्ने र क्लाइमेक्समा अर्कै ट्विष्ट देखाउने काम यसमा पनि गरिएको छ । अभिनेता आकाश श्रेष्ठको काम सुरुवातदेखि अन्त्यसम्म एउटै छ । उनले अभिनयमा विविधता पस्कन सकेका छैनन् । अभिनेत्री पूजा शर्माले भने अभिनयमा निखारता ल्याएकी छिन् ।

रामकहानी कमेडी, सस्पेन्स र लभको मिश्रण हो । एउटा रमाइलो र मायाले भरिएको फिल्म हेरेर २ घन्टा विताउन चाहने दर्शकका लागि यो राम्रो खुराक छ । फिल्म हेर्दा धेरै सोचेर नजानुहोला, रमाइलो पनि गर्नुहुनेछ, रुनु पनि हुनेछ ।

 

 

यो पनि पढ्नुहोस्ः

ओइलिएको ‘रोज’ ( फिल्म समिक्षा )

भिडियो हेर्नुस

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video