निर्माताको बानी, आफू पनि डुब्ने अरुलाई पनि सँगै डुबाउने

सुत्र इन्टरटेन्मेन्ट – ‘म असोज ५ गते जसरी पनि फिल्म रिलिज गर्छु’ भनेर पत्रकार सम्मेलनमा नै कुर्लिएका निर्माता केशव भट्टराइलाई अहिले समस्या पर्नु परेको छ । उनले निर्माण गरेको सिनेमा यात्रा अब कुन मितिमा रिलिज गर्ने भन्ने समस्याले थोपरिएको छ । बजेट ठूलो हुँदा निर्माताले सोलो रिलिज डेट कुरिरहेका छन् । तर, विदा परेको सोलो डेट पाउन फलामको चिउरा चपाउनु पर्ने अवस्था निर्मातालाई छ ।

सलिनमान बनियाँ मुख्य भूमिकामा रहेको यात्रा सिनेमा रिलिज कहिले गर्ने ? असोज ५ गते नसकेपछि निर्माता भट्टराई अन्यौलमा छन् । चलचित्र निर्माता संघको कार्यसमितीमा रहेका भट्टराइलाई त यो समस्या छ भने अन्य निर्मातालाई कति समस्या होला । तर, रिलिज डेटको समस्या निर्माता आफैले सिर्जना गरेका हुन् ।

किनकी, सिनेमाको कथा पनि लेख्न सुरु नहुँदै नेपालका निर्माता सिनेमा रिलिज मिति तय गर्नका लागि लागिपर्छन् । उनीहरु तोकिएको डेटमा नै सिनेमा आउँछ भनेर कराउँछन् पनि । तर, छोरो नपाउँदै फोटो सिउने भनेजस्तै रिलिज डेट तोकेर सो मितिमा नल्याउँदा निर्माताको बजेट झनै बढ्छ ।
चलचित्र दि कर्माकै प्रदर्शन मिति बारम्बार सरेको छ । मंसिर ७ मा आउने भनिएको सिनेमा अब माघ ४ गते पुगेको छ । सिनेमा किन यो मितिमा पुग्यो निर्मातालाई पनि थाहा छैन होला ।

गतबर्ष अभिनेता अनमोल केसीले अभिनय गरेको सिनेमा कृले पनि यस्तै समस्या भोगेको थियो । अनमोल केसीको नामले नै फिल्म चल्छ भन्ने सोचेका निर्माताले सुरुमा त भदौ ८ मै फिल्म आउँछ भनिदिए । पछि दशै, तिहार हुँदै सिनेमा माघको २६ गते पुग्यो ।

बारम्बार सिनेमाको मिति सर्दा माघ २६ लाई पहिले नै बुक गरेको सिनेमा कान्छी एक साता पछि सर्नुप¥यो भने बारम्बारको मितिले कृको व्यापार पनि निर्माताले सोचे जस्तो भएन ।

सिनेमाको कथा नै नबुन्दा रिलिज डेट बुक गर्ने र सो डेटमा फिल्म रिलिज गर्नका लागि हतारिने निर्माता पनि छन् । भनेकै मितिमा फिल्म रिलिज गर्ने चटारोले न त राम्रोसँग सिनेमाको काम सकिएको हुन्छ, न त सिनेमा भनेजस्तो नै बन्छ । यसले निर्मातालाई फुर्सदमा पछुताउनु बाहेक अरु कुनै विकल्प नै देखिदैन ।

हतारमा सिनेमाको मिति तोकेर सो मितिमा ल्याउन नसक्दाको घाटा अरु पनि छ । जस्तो, एउटा मितिमा ल्याउन नसक्दा दर्शक झुक्किने त भैहाले । अर्कोतिर, सो मितिमा सिनेमा नआउँदा अर्को मितिमा पुग्नु पर्ने हुन्छ । र सो मितिमा पहिलेदेखि नै बुक गरेर बसेको सिनेमालाई पनि असर गर्ने पक्का छ । यसरी हेर्दा एकजना निर्माताको हतारको खेलाले अर्को निर्माताको लगानीमाथि पनि बालुवाको पानी भएको छ ।

नेपालमा एकसाथ सिनेमा जुधेपछि त्यसलाई समाधान गर्न कसैले पनि पहल गर्दैन । यहाँ मिलेर जानुपर्छ भन्ने त छदै छैन । फिल्म चल्नु अघि मेरो भन्दा अर्कोको कमजोर छ भनेर सोच्छन् निर्माता । अनी सिनेमा चलेर देशभरबाट ५ लाख पनि नकमाउँदा पुर्पुरोमा हात राख्नुको विकल्प नै छैन ।
सिनेमाको रिलिज डेट बन्नु अगावै तोकिनु गलत हो । कमसेकम सिनेमाको छायांकन सकेपछि रिलिज डेट तोक्दा त्यसले काम गर्न हतार गर्न पनि पर्दैन, भनेको मितिमा नै सिनेमा रिलिज हुन्छ ।

यसैले राम्रा डेटमा सिनेमा ल्याउन सक्ने नसक्ने पक्का नहुँदै बुक गरेर शक्तिशाली बन्ने परिपाटी हटाउन आवश्यक छ । आफू पनि नसक्ने र अर्काको लगानीमा समेत खेलवाड गर्ने प्रवृत्ती बढ्दै गयो भने त्यसले सिनेमालाई फाइदा गर्दैन । बेलैमा सोचौ है बेलैमा सोचौ ।
यो पनि पढ्नुहोस्;
साम्राज्ञीलाई किन चाहियो विकिनीको चर्चा ?

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.