फिल्म जुधेपछि किन आरोप प्रत्यारोप गर्छन् नेपाली मेकर ?

सुत्र इन्टरटेन्मेन्ट- नेपाली सिनेमा नचल्नुको कारण के ? टाढा जानै पर्दैन, यतै खोज्न सकिन्छ । नेपाली सिनेमा नचल्नुको मुख्य कारण, नराम्रो सिनेमा बन्नु ।
तर, कारण यत्ती मात्र होला त ? त्यो पनि होइन । नेपाली सिनेमा नचल्नुको कारण नेपाली सिनेमा बनाउनेको अस्वभाविक घमण्ड र आफैमा मै हूँ भन्ने भाव ।

दर्शकले झुर भनेका, दर्शकले मन नपराएका, दर्शकले तलाई सिनेमा नै बनाउन आउँदैन भनेका निर्देशकहरु पनि आफ्नो कमजोरी कहिले हेर्न सक्दैनन् ।
नेपाली सिनेमा नचल्नुको मुख्यकारण, फिल्मको भिडन्त होला ? हो, यो पनि एउटा कारण हो । तर, यो मात्र कारण होइन । सिनेमा जुधेपछि हुने अस्वभाविक लफडा हो ।

सिनेमा जुधेका मेकरले एकले अर्कालाई होच्याउने, अर्काको त सिनेमा नै होइन भन्ने भाव जुन छ, यो सबैभन्दा ठूलो शत्रु हो । आफ्नो सिनेमासँग जुधेको हिन्दी वा अंग्रेजी सिनेमाको बारेमा एक शब्द पनि नबोल्ने, बरु मिल्यो भने कुनै विदेशी सिनेमाको पार्टीमा गैदिने नेपाली सिनेमाका मेकर आफ्नै साथीले बनाएको सिनेमामा कटाक्ष गरेर रमाइदिन्छन् ।

अभिनेता अनमोल केसी र अभिनेता आशिरमान देशराजको सिनेमा एकसाथ रिलिज हुँदैछ । इगोले होस् या कसरी होस्, अब सिनेमा जुध्ने नै भए । अहिले मिडियामा अनावश्यक मिडियाबाजी सुरु भएको छ । कतै ओभर फ्लो खाने कुरा, कतै ओभर फ्लो खान आएको होइन भन्ने कुरा ।

यस्ता विना तुकका कुरा गरेर सिनेमाका मेकर आफूले आफूलाई नै लज्जित बनाइरहेका छन् । सिनेमा जुध्ने कुरा विदेशमा पनि हुन्छ । तर, सिनेमा जुधेपछि एकले अर्कालाई होच्याउने, अर्काको त केही पनि होइन भन्ने सोच उनीहरुमा कम देखिन्छ ।

तर, नेपालमा आफ्नो सिनेमा बबाल, अर्काको सिनेमा झुर भनेर पहिले नै दर्शकलाई भ्रमित पारिदिने काम गर्छन् मेकर । जब फिल्म बनाउने मेकर नै मिल्न सक्दैनन् भने, दर्शकले उनीहरुको रमिता हलमा आएर हेरिदिन किन आवश्यक छ ?

नेपालमा आजसम्म बबाल सिनेमा बनाउने भनेर कसैले ब्रान्ड बनाएको पनि छैन र बबाल सिनेमा खेल्ने भनेर कसैको नाम उचाइमा पनि छैन । यहाँ सबै जना सिक्दैछन् । सिक्दा कसैले बढी त कसैले कम सिके होलान् ?

सिनेमा आधा दर्जन नै जुधेपनि केही फरक पर्दैन । तर, सिनेमा जुधेपछि आफ्नो सिनेमाको भन्दा जुध्न लागेको सिनेमाको बारेमा बढी चिन्ता गरेर नै हो नेपालमा मेकर कमजोर बनेका ।

नेपालमा एउटाको सिनेमाको प्रशंसा अर्काले गर्ने बानी नै छैन । सकिन्छ खसाल्ने, नसके पनि कुनै न कुनै गुट उपगुट बनाएर सक्ने । बस यत्तीमै नेपालका मेकर उभिदा नै हो समस्या आएको ।

सिनेमा जुधेपनि राम्रो सिनेमा दर्शकले हेर्छन् । तर, दर्शकले हेर्नु भन्दा अगाडि नै गरिने बादबिबादले दर्शकलाई पहिले नै वाक्क बनाउने काम नगरौ । सिनेमा राम्रो बनाएपछि चल्छ, चलेका पनि छन् ।

तर, सिनेमा जुधेपछि अर्कालाई झुर र आफ्नोलाई बबाल भन्ने बानी छाडौ । आफ्नो सिनेमाको राम्रो पब्लिसिटीमा ध्यान दिउँ, सकिन्छ अरुलाई राम्रै भनौ, नसके गाली गर्न छाडौ । आफू नै नमिलेपछि दर्शक हलमा आउँदैनन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.