क्याप्टेनः देशका लागि लडेर पनि उठ्ने एक यूवाको कथा ( फिल्म समिक्षा )

सुत्र इन्टरटेन्मेन्ट-  नेपालमा खेलकुदको बिषयमा बनेको सिनेमाको व्यापार राम्रो छैन । झन्, सिनेमा मेकिङमा त बनाउनेहरु खुबै चिप्लिएका छन् । यसैले पनि खेलकुदमाथिको सिनेमा आफैमा एउटा जोखिम हो ।
यसपटक, कमर्सियल सिनेमा बनाउँदै आएका निर्माता भूवन केसी र लभ स्टोरी सिनेमा खेल्दै आएका अभिनेता अनमोल केसीले फुटबलको कथाबाट रिक्स नै मोलेका छन् ।
शुक्रबारदेखि रिलिज भएको सिनेमा क्याप्टेन के हेर्नलायक छ त ?

कथावस्तु

झापमा हुर्किदै गरेको इशान खड्का(अनमोल केसी) बाबुको सपना पुरा गर्न सानैबाट फुटबल खेल्छ । बाबु सरोज खनालको सपना पुरा गर्न फुटबल खेल्ने इशानका लागि उसकी आमा नै बाधक बन्छिन् । बेरोजगार भएपछि विदेश हिडेको पिता प्यारालाइसिज भएर नेपाल फर्किएपछि इशानको दुखको दिन सुरु हुन्छ । यसका लागि उसले फुटबल छाडेर काठमाण्डौमा पाएको सबै काम गर्न थाल्छ ।
एकातिर बाबुको उपचारको खर्च, अर्कोतिर आफ्नो फुटबलप्रतिको तिब्र चाहना । बाबुको गोल्ड मेडल जित्ने सपना पुरा गर्नका लागि इशानले के के गर्छ र उसले गोल्ड मेडल जित्छ या जित्दैन ? यही कथामा यो फिल्म बनेको छ ।

के हेर्ने ?

अभिनेता अनमोल केसीलाई रुचाउने दर्शकका लागि क्याप्टेन उत्कृष्ट खुराक हो । अनमोलको रोमान्टिक अवतारदेखि राष्ट्रप्रेम र परिवारप्रतिको जिम्मेवारीमा यो सिनेमा बगेको छ । सिनेमाको गीतसंगीत उत्कृष्ट छ । सिनेमाको कथा बुनाई राम्रो छ । दर्शकलाई विल्सन विक्रम राई, राजाराम पौडेल र वुद्दि तामाङले हसाँउछन् । उपासना सिंह ठकुरी र प्रियंका एमभीको प्रेममा अनमोल केसी रोमान्टिक देखिएका छन् ।
नेपालमा फुटबलको कथामा यो स्तरको सिनेमा यसअगाडि बनेको थिएन । फुटबल खेललाई देखाउनका लागि झापादेखि काठमाण्डौ हुँदै अन्तरराष्ट्रिय ग्राउन्ड देखाउन कुनै कसर बाँकी राखिएको छैन ।
बारम्बार सिनेमामा अभिनय गर्न नसकेको आरोप भोग्दै आएका अभिनेता अनमोल केसी यसपटक यो आरोपबाट धेरै हदसम्म मुक्त छन् । अभिनेत्री उपासना सिंह ठकुरीले यो क्षेत्रमा ठूलो संभावना देखाएकी छिन् । क्याप्टेन हेरुन्जेल बोरिङ नलाग्ने सिनेमा हो ।

के छ कमजोरी ?

यो सिनेमा केही काम बाँकी नै रहँदा रिलिज गरिएको सिनेमा जस्तो लाग्छ । प्राविधिक पक्षमा सिनेमा चुकेको छ । सिनेमाको डबिङ, मिक्सिङमा समस्या देखिएको छ । भीएफएक्समा पनि सिनेमामा समस्या देखिएको छ ।
कात्तिकमा रिलिज गर्ने भनिएको सिनेमाको भीएफक्स कामकै लागि अरु महिना लिइएको थियो । तर, सिनेमा यही कुरामा चुकेको पाइन्छ । सिनेमाले फुटबलरको कथा देखाएको छ । तर, फुटबलरको फुटबल प्रतिको क्रेजमा सिनेमा चुकेको छ ।
फुटबल क्रेज हुने खेलाडीको घरको भित्तामा देखिने खेलाडीको तस्बिर, फुटबलप्रतिको उसको मोह भन्दा प्रेम र पारिवारिक जीवनमा इशानलाई अल्झाइएको छ । यसैले पनि सिनेमा अन्तै बहकिएको होकि जस्तो लाग्छ ।

हेर्ने कि नहेर्ने ?

फुटबलको कथालाई मुख्य सार बनाएतापनि लभस्टोरी, एक्सन, पारिवारिक कथाको साथमा आफ्नो लक्ष्य पुरा गर्नका लागि एक यूवाले देखाएको मिहिनेत र लडेर पनि बारम्बार उठेको एक यूवाले दर्शकलाई धेरै कुरा सिकाउन सक्छ ।
क्याप्टेनको केही प्राविधिक समस्या विर्सने हो भने यो हेर्नलायक सिनेमा बनेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.