‘प्रेमगीत २’ लाई साइवर सुरक्षा वचन

‘प्रेमगीत २’ लाई लिएर सरोकार निकायले साइवर सुरक्षा प्रदान गर्ने आश्वासन दिएका छन् । रिपोटर्स क्लबमा आयोजित प्रेसमिटमा सिनेमा र साइवर सुरक्षामाथि छलफल भयो ।

अघिल्लो संस्करणदेखि हालैको देश दौडाहा क्रममा साइवर बुलिङको शिकार भएको ‘प्रेमगीत २’ ले सरोकार निकायबाट विश्वस्तता खोजेको हो । निर्माता संघ अध्यक्ष आकाश अधिकारीले सिनेमालाई प्रतिलिपि अधिकार उल्लंघनका मुद्दाबाट जोगाउन संस्था सचेत रहेको बताए ।

संघमा रहेको साइवर सेललाई सक्रिय तुल्याउने बताउँदै अधिकारीले प्रेमगीत २ निर्मातालाई सम्भावित समस्या हुन नदिन ढुक्क तुल्याए । भारतको केन्द्रिय चलचित्र जाँच समितिका अध्यक्षलाई भेट गरेर आफूले भारतमा नेपाली फिल्म सेन्सर सहजीकरणका लागि प्रयत्न गरेको बताए ।

रिपोटर्स क्लब अध्यक्ष ऋषि धमलाले प्रेमगीत २ लाई साइवर थ्रेट हुन नदिन आफ्नो संस्था दृढतासाथ उभिने बताए । यसबारे गृहमन्त्रीसँग पनि कुरा भैसकेको धमला कथन थियो ।

अभिनेत्री अश्लेषा ठकुरीले नेपालगंजमा आफ्नो वार्डरोव मलफङ्सनलाई सामाजिक संजालले अतिरञ्जित तरिकाले उचालिएको बताइन् । ‘यथार्थभन्दा बढी बनाइयो’ उनले भनिन्, ‘यो पनि साइवर अपराधकै एक उदाहरण हो ।’

अभिनेता प्रदीप खड्काले साइवर सुरक्षा सिनेमाका लागि आवश्यक रहेको बताए । निर्माता सन्तोष सेनले आफ्नो सिनेमा अपराध हुन नदिन सचेत रहेको बताए ।

प्रेमगीत प्रिक्वेल रिलिज भएको केही समयमै अनलाइन रिलिज भएको थियो । दोस्रो भागका क्लाइमेक्स दृश्य लिक्ड भएका थिए भने नेपालगंजमा अभिनेत्री ठकुरीको वार्डरोव मलफङ्सनलाई चित्रण गरिएको थियो । ट्रेलर रिलिजका क्रममा ल्याटिन अमेरिकी मुलुकबाट युट्युवमा डिस्लाइक बढी देखाइएको थियो ।

रामशरण पाठक निर्देशित सिनेमा साउन १३ गते रिलिज हुँदैछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video