यि हुन १ करोड भारु पारिश्रमिक पाउने पहिलो अभिनेत्री

भाद्र ११, २०७४- दक्षिण भारतीय फिल्म उद्योगमा १ करोड भारु पारिश्रमिक पाउने पहिलो अभिनेत्री हुन्– इलियाना । सन् २००६ मा तेलगु फिल्म ‘देवदासु’ का लागि फिल्म फेयर अवार्ड उचालेकी उनले आफ्नो योग्यतालाई सन् २०१२ को ‘बर्फी’ मा प्रमाणित गरिदिइन् । यही फिल्मबाट थुप्रै अवार्ड कुम्ल्याएकी इलियाना आउँदो शुक्रबार मिलन लुथरियाको ‘बादशाहो’ मा नयाँ अवतारसहित देखिँदै छिन् । दर्शक उनको नकारात्मक भूमिकाको पर्खाइमा छन् ।

२९ वर्षीया यी बलिउड अभिनेत्रीले भने फिल्म पाउन कसैलाई मस्का लाउन नगरेको बताएकी छन् । ‘म आफैं टयालेन्टेड छु नि,’ उनले हालै एक मिडियालाई भनिन्, ‘फिल्म मिल्छ कि भनेर मान्छेसँग मीठा–मीठा बात मार्दै बस्नुपर्ने आवश्यकता छैन मलाई ।’ उनले काम पाउन आफूले मान्छेलाई इम्प्रेस्ड नगर्ने गरेको पनि स्पष्ट पारेकी छन् । कतिपयले आफ्नो यो बानीलाई घमण्डीपनको संज्ञा दिने गरेको पनि उनले खुलाइन् । ‘चाहेँ भने म मान्छेहरूसँग कफी पिउन जान सक्छु, डिनरका लागि जान सक्छु, पार्टीमा गएर उनीहरूलाई खुसी बनाइदिन सक्छु । तर, म यो सबै गर्दिनँ । फिल्म पाइन्छ भन्ने लोभमा यस्तो गर्न मनले दिँदैन ।’

उनी निर्देशकले आफूलाई अभिनयकै कारण विश्वास गरेर बोलाऊन् भन्ने चाहन्छिन् । भन्छिन्, ‘म यस्तो फिल्म रोज्न खोज्छु जसमा मेरो प्रतिभा देखियोस् । अहिलेसम्म मेरो योग्यताकै कारण फिल्म पाइरहेकी पनि छु ।’ फिल्म इन्डस्ट्रीमा धेरै साथी बनाउनुको कारणबारे सोध्दा उनले आफू कसैसँग पनि नराम्ररी प्रस्तुत हुन नसक्ने जवाफ दिएकी थिइन् । ‘म प्रोफेसनल कलाकार हुँ,’ उनले भनेकी छन्, ‘सबैसँग राम्रो व्यवहार गर्न खोज्छु । सहकलाकार, निर्देशक, निर्माता र सहकर्मीले मसँग सहज महसुस गरून् भन्ने चाहन्छु । तर, फिल्म सेटमा म कसैलाई मित्र बनाउन गइरहेकी हुँदिनँ ।’

मुम्बईको क्याथोलिक परिवारमा जन्मिएकी इलियाना तेलगु हुँदै बलिउड भित्रिएकी थिइन् । उनी स्कुल/कलेजमा छँदा राम्रो विद्यार्थी थिइन् भने कलाकारितामा पनि उनको तारिफ हुने गरेको छ । निर्देशक राकेश रोशनले इलियानालाई मोडलिङमा छिर्न उक्साएका थिए । राकेशले नै उनलाई फेयर एन्ड लभ्लीको विज्ञापनमा खेलाए जसबाट दुवैले प्रशंसा कमाए । बलिउड आउनुअघि नै पोन्ड्स, फेयर एन्ड लभ्लीलगायत थुप्रै विज्ञापनमा खेलेकी हुनाले उनको अनुहार परिचित थियो । ‘जुलायी’, ‘किक’, ‘जलसा’ जस्ता तेलगु फिल्म खेलिसकेपछि उनले सन् २००६ मा ‘देवदासु’ बाट फिल्मफेयर पाएकी थिइन् ।

उनी चुरोट पिउने मान्छे पटक्कै मन पराउँदिनन् । फुर्सदका बेला स्विमिङ खेल्न र किताब पढ्न रुचाउँछिन् । उनको मन पर्ने ठाउँ इटाली हो । उनी आफ्नो फिगरबारे निकै सचेत छिन्, दिनको एक घण्टा जिम गर्छिन् । झूटो बोल्ने मान्छेलाई उनी घृणा गर्छिन् । आफूलाई प्रोफेसनल बाथरुम सिंगर भन्न रुचाउने उनी रसमलाई, रसबरी र डार्क चकलेटकी फ्यान हुन् । आकर्षक शरीर र स्वस्थ रहन जिम अनिवार्य बनाएको इलियाना बताउँछिन् । कान्तिपुर बाट साभार ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video