नेफ्टाले सिनेमा विकास र विस्तारमा नेतृत्व लिने

चलचित्र प्राविधिक संघले पेशागत हितसँगै सिनेमाको अन्तराष्ट्रिय विस्तारलाई थप सशक्त बनाउने निर्णय गरेको छ । राजधानीमा बुधबार सम्पन्न अठारौं साधारण सभामा दुई कार्यभारलाई सँगै अघि बढाउन सुझाव प्राप्त भएको हो ।

सभा उद्घाटन गर्दै भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले पर्दा अगाडिभन्दा पछाडि बसेर योगदान गर्ने प्राविधिकको सम्मान महत्वपूर्ण हुने बताए । प्राविधिकको परिश्रमले सिनेमा र प्रविधिले गति लिएको चर्चा गर्दै उनले संघलाई उद्योगकै नेतृत्वको जिम्मा लिन आग्रह गरे ।

अध्यक्ष पुष्कर लामाले अघिल्लो वर्षका उपलब्धीको चर्चा गर्दै आउँदो वर्षलाई थप प्रभावकारी बनाउने बताए । प्राविधिकको वृत्ति विकासलाई हेरेर आकस्मिक राहत कोष स्थापना गरिएको बताउँदै उनले पेशागत हकहित सशक्त तुल्याउने प्रण गरे ।

अवार्डलाई नियमित प्रक्रियाजस्तो कर्मकाण्डीय मात्र नगराएर घरेलु सिनेमाको अन्तराष्ट्रियकरण, बजार विस्तार र संस्कृति प्रवद्र्धन हुने किसिमले आयोजना गरिने उनले बताए । संघको भवन निर्माण र चलचित्र विकास बोर्डमा एकजना प्राविधिक सदस्य नियुक्ति गर्न माग राख्दै सरकारसँग डेलिगेसन जाने तयारी रहेको लामाले बताए ।

उक्त अवसरमा संस्थाका निवर्तमान अध्यक्ष मनोजकुमार केसी लगायत गतवर्ष दुबईमा सम्पन्न नवौं नेफ्टा फिल्म अवार्डमा योगदान दिने संचारकर्मीलाई सम्मान प्रदान गरियो । सभामा नेफ्टा कार्यसमितिले यसवर्षको आर्थिक प्रतिवेदन समेत पेश गरेको थियो ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video