‘कृ’ का निर्माता गिरी हिरासतमा, गीत चोरी गरेको आरोप

काठमाडौं–
बर्षकै निकै चर्चा परिचर्चामा रहेको चलचित्र ‘कृ’ का निर्माता सुवास गिरीलाई प्रहरीले पक्राउ गरेको छ । स्टारडम मेन्टेन गर्न सफल युवा स्टारर अनमोल केसी अभिनीतचलचित्र ‘कृ’ मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीत चोरी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पुराना निर्माता शम्भु प्रधानको निर्देशन रहेको तथा उनै अनमोलका बाबु भुवन केसीको अभिनय रहेको ‘सम्झना’ मा समावेश उक्त गीत विना अनुमती चलचित्र ‘कृ’ मा राखेको अभियोगमा निर्माता गिरी पक्राउ परेका हुन् । मंगलबार बेलुका छलफलको लागि प्रहरी परिसर टेकु पुगेका गिरीलाई अनुसन्धानका लागि भन्दै काठमाडौं प्रहरी परिसर, टेकुमा राखिएको हो ।

दुबै पक्षसँगको र्वार्ता सफल नभएपछि अनुसन्धानका लागि निर्माता गिरीलाई हिरासतमा राखिएको टेकु प्रहरीले जनाएको छ । े अनुसन्धान पुरा नहुन्जेल हिरासतमै राखिने प्रहरीले जनाएको छ । निर्देशक प्रधानले केही हप्ता अघि गीत चोरेको आरोपमा प्रहरीमा जाहेरी दिएका थिए । धेरै पटक पिल्मबाट गीत हटाउन आग्रह गरेपनि ‘कृ’ टिमले अटेरी गरेपछि निर्माता गिरीलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपरेको प्रहरीको भनाई छ । अभिनेता भुवन केसीविरुद्ध पनि जाहेरी गरेपनि चलचित्र विकास बोर्डको दर्ता फाइलमा सुवास गिरीको नाम मात्र निर्मातामा उल्लेख छ ।

कानुनी रुपमा केसी निर्माता भएको नदेखिएपछि गिरीविरुद्ध मात्रै मुद्दा चलाउन लागिएको हो । प्रतिलिपि अधिकार ऐनअनुसार दोषी ठहर भए ६ महिनासम्म कैद सजाय हुनसक्छ । त्यस्तै, मागअनुसार क्षतिपूर्ति र जरिवाना समेत हुन सक्ने व्यवस्था छ । निर्माता गिरी स्तरिय चलचित्र बनाउने निर्माताका रुपमा परिचित छन् । उनले यसअघि ‘कृ’ सँगै ‘नोभेम्बर रेन’, ‘क्लासिक’ ‘पर्व’ आदि चलचित्र निर्माण गरिसकेका छन् ।  फेरि ‘कृ २’ को निर्माण गर्ने घोषणा गरिसकेका गिरीले युवा स्टार प्रदीप खड्कालाई लिएर ‘भैरवी’ निर्माणको तयारीमा जुटेका थिए ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video