समीक्षकको नजरमा ‘बर्ष ०७५मा नेपाली फिल्म’

दिपेन्द्र घिमिरे (सुत्र इन्टरटेनमेन्ट) – बर्ष ०७५मा कुल ९६ वटा फिल्म प्रदर्शनमा आए । प्रदर्शनमा आएका मध्य १ दर्जनले आफ्नो लगानी सुरक्षित गरे होला भने ब्यवसायिक रुपमा हिट फिल्मको लिस्टमा ५ फिल्म पनि मुस्किलले परे होलान् । हरेक् बर्षको अन्त्यमा फिल्मको बर्ष समीक्षा हुने गरेको छ । हिट फिल्म, हिट नायक-नायिका, हिट संगीतकार, करोड क्लबका गीत लगायत यावत विषयमा । यसै क्रममा बर्ष ०७५मा कति फिल्मका समीक्षा भए कति फिल्म समीक्षा गर्न लायक पनि भएनन् । एकाध छोडेर अधिकांश फिल्मका समीक्षा पनि नकारात्मक नै आए । कती पय अवस्थामा समीक्षा माथी नै प्रश्न पनि उठे । समीक्षा गर्ने व्यक्तिहरु धेरैको आँखाको तारो पनि बने । यसैबिच सुत्र इन्टरटेनमेन्टले नेपाली फिल्म क्षेत्रमा सक्रिय केही समीक्षकहरुलाई सोधेको थियो तपाईको नजरमा ०७५को नेपाली फिल्म क्षेत्र कस्तो भनेर । उनीहरुको जवाफ उनीहरुकै शब्दमा :-

सामिप्यराज तिमल्सेना (सम्पूर्ण साप्ताहिक) – समग्रमा निराशाजनक रह्यो । ५२ वटा हप्ता हुने बर्षमा ९६ फिल्म रिलिज हुनु राम्रो संकेत हैन । फिल्म रिलिजको यो संख्या बढी हो । मागभन्दा आपूर्ति बढी भयो र त्यसमा पनि गुणस्तरीयता रहेन । गत साल कमाउने फिल्मको संख्या राम्रो थियो तर यो साल दुईटा सिनेमाले हलबाट पैसा उठाए, बाँकी तीन चारले चारतिर जोडेर लगानी उठाए । तर, फिल्मको सफलता लगानी उठाउनमा मात्र सीमित हुन्न । यसले कस्तो कथा भन्यो ? र कलात्मक कथावाचनमा कत्तिको योगदान दियो त्यसको आधारमा पनि फिल्मको सफलताको मापन हुन्छ । तर, यो साल न धेरै फिल्मले पैसा कमाए न कलात्मक कथावाचनमा योगदान गरे ।

‘बुलबुल’ र ‘हरि’लाई बिर्सने हो भने यो साल गर्व गर्ने सिनेमा बनेनन् । फिल्म नचल्नु आफ्नो ठाउँमा छ । तर, फिल्मकर्मी उद्योग वा आफ्नै अवस्थाप्रति गम्भीर देखिएनन् । आफू डुबेपछि अरु पनि डुबुन् भनेर कामना गरेर बसिरहे । फिल्मले दर्शक भडकाइरहँदा उल्टै फिल्मकर्मी नयाँ नयाँ पदवी बाँडचुडमा मग्न भए । मेगास्टार, सुपरस्टारको ट्याग दिन फिल्मकर्मीबीच प्रतिस्पर्धा नै देखियो । सात हलका मान्छे भेला हुने गोपीकृष्ण हलमा टुप्पामा बसेर सेल्फी खिचेर हिटको डंका पिटाउने क्रम यो साल पनि रोकिएन । कथा, पटकथा हैन संगीतप्रतिको अनावश्यक भरोसा यथावत रह्यो । लोकगीत भए डाँडाकाँडा खोज्ने र प्रेमगीत भए समुन्द्र खोज्ने फिल्ममेकरको बानीले यो साल पनि निरन्तरता पायो । यस्ता गीतले युट्यबु ट्रेन्डिङमा त स्थान बनाए तर दर्शकको मनमा स्थान बनाउन सकेनन् । पटके निर्माता आउन्जेल यो अवस्थामा सुधार आउने अवस्था पनि छैन ।

शिव मुखिया (अनलाइन खबर)
– नेपाली सिनेमालाई यसपाली ट्रायल वा सिकारु बर्ष भन्दा बढी सान्दर्भिक हुनसक्छ । किनभने सिनेमामा अभ्यास गर्न खोज्ने पुस्ता आए । उनीहरुले सिनेमा बनाउने अभ्यास गरे । अर्थात, परिपक्क, पोख्त, अभ्यस्त फिल्ममेकर्सको सर्वथा अभाव रह्यो ।

आफुलाई होनाहार ठान्ने वा परांगत मान्नेहरु पनि चिप्लिए । त्यसैले यस्ता फिल्म प्रदर्शनमा आएनन्, जसलाई खुलेर तारिफ गर्न सकियोस् । हामी नेपाली फिल्मका लागि छुचो र आलोचक जस्तो बन्नुपर्ने अवस्था कायम रह्यो । हप्तामा औसत दुई वटा फिल्म सार्वजनिक भइरहँदा बर्षभर एकाध फिल्ममात्र दर्शकले रुचाइदिनु राम्रो संकेत होइन । बाँकी दर्जनौ फिल्म डुब्दै गर्दा समग्र नेपाली फिल्म उद्योग नै धरापमा पर्दै गरेको जनाउ हो ।
यसबर्ष केही फिल्म राम्रा बने वा बनाउने प्रयास भए । जस्तो, बुलबुल, प्रसाद । तर, यी व्यवसायिक हिसाबले सफल भएनन् । छक्का पञ्जा–३, जयभोले, इन्टु मिन्टु लन्डनमाले अपेक्षाकृत बजार कब्जा गर्‍यो । यद्यपी यी फिल्म गुणवत्तामाथि प्रश्न उठिरह्यो ।
समग्रमा यो बर्ष नेपाली फिल्मको लागि सन्तोषजनक स्थिती पनि रहेन ।

गोकर्ण गौतम (नेपाल म्यागजिन) – ९६ वटा फिल्म प्रदर्शन भए । तर हरी र बुलबुलबाहेक अरु खास स्मरणयोग्य रहेनन् । छक्का–पञ्जा ३, नाई नभन्नु ल ५ जस्ता केही फिल्मले मात्र नाफा कमाए । यो आफैंमा निराशाजनक स्थिती हो । कि छक्का पञ्जा शैलीमा हसाउनु पर्छ भन्ने फिल्म बने कि त हिरो हिरोइनलाई ओल्लो डाडा र पल्लो डाँडामा राखेर नचाएपछी रोमान्टिक देखिन्छ भन्ने सोचबाट ग्रस्त सिनेमा बने । तर जसरी बने पनि प्रायः सबै फ्लप । बक्स अफिस लागु भयो पनि भनियो । तर निर्माताले के पाए, वास्तविक कमाई कति हुदोरहेछ, पत्तो पाइएन ।

ओभरसिजमा नेपाली फिल्मको माग पनि खस्कियो । ‘पुस सेल’मात्र कति थेग्न सक्छ र ? चोरिएका गीतसंगीत र फिल्मका कथा प्रशस्तै भेटिए । फिल्मको कन्टेन्ट र प्रस्तुतीभन्दा कलाकारको पारिश्रमिक, गीतको खिचाईको खर्च, विदेशमा बिक्रि भएको मिथ्यांक जस्ता सतही कुरामै रमाउने काम भयो । समग्रमा भन्ने हो भने यो बर्ष फिल्म मेकरको ध्यान राम्रो फिल्म बनाउनु भन्दा बाहेक अरु सबैमा गयो । वस्तुगत विश्लेषणमा ध्यान छैन । आत्मरती, भ्रम र प्रायोजित प्रसंशाकै घेरामा अल्झिने प्रवृत्तिले निरन्तरता पाएको छ ।
आउने वर्षका लागि पनि सुखद संकेतहरु देखापरेका छैनन् । व्यापार उकास्न र कलात्मक पाटो अझ सबल बनाउन खुला बहस र इमानदारिताको आवश्यक देखिन्छ ।

अनिल यादव (शुक्रवार साप्ताहिक) – यो वर्ष नेपाली फिल्म बजारको नतिजाले फिल्म चलाउन स्टार होइन, कन्टेन्ट नै चाहिने रैछ भन्ने स्पष्ट संकेत गर्यो । बजारले स्टार दाबी गरिरहेका अनमोल केसी, प्रदिप खड्का, साम्राज्ञीराज्य लक्ष्मी शाह, आर्यन सिग्देलजस्ताको फिल्मले पनि हावा खानुले यसलाई पुष्टि गर्यो । कन्टेन्ट नै बलियो भयो भने फिल्म त्यसै चल्ने रहेछ । यसको उदाहरण देखिए, ‘नन–स्टार’ले अभिनय गरेका ‘बुलबुल’ र ‘प्रसाद’ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.